गौर नगरपालिकामा ४ वर्षदेखि लेखा अधिकृत जिम्मेवारीविहीन, कोलेनिकाबाट पत्राचार

40 Share

मधेश भूमि

रौतहट, २५ चैत २०८२

गौर नगरपालिकामा कार्यरत एक लेखा अधिकृत विगत चार वर्षदेखि जिम्मेवारीविहीन अवस्थामा बस्न बाध्य भएका छन्। लेखा अधिकृत (सातौँ तह) सोहन कुमार यादवले आफूलाई लामो समयदेखि कुनै काम नदिई उपेक्षा गरिएको गुनासो गरेका हुन्।
उनका अनुसार स्वीकृत दरबन्दीअनुसार स्थानीय प्रशासन सेवा, लेखा समूहअन्तर्गत सातौँ तहमा पदस्थापन भई वरिष्ठ कर्मचारीका रूपमा कार्यरत रहे पनि नगरपालिकाले आफूलाई कुनै जिम्मेवारी नदिएको बताएका छन्। उनले पदीय कार्यविवरणअनुसार काम गर्न योग्य हुँदाहुँदै पनि जिम्मेवारीविहीन बनाइएको भन्दै सम्बन्धित निकायसँग बारम्बार आग्रह गर्दै आएका छन्।
यसै विषयमा उनले कोष तथा लेखा नियन्त्रक कार्यालय, रौतहटमा समेत निवेदन दिएका थिए। त्यसपछि कोष तथा लेखा नियन्त्रक कार्यालयले गौर नगरपालिकालाई पत्राचार गर्दै लेखा अधिकृत यादवलाई उनको पदीय जिम्मेवारीअनुसार काममा खटाउन सहजीकरण गरिदिन आग्रह गरेको जनाएको छ।
नगरपालिकामा सातौँ तहका लेखा अधिकृत हुँदाहुँदै पनि हाल खातासम्बन्धी कार्य सोही कार्यालयका छैठौँ तहका कर्मचारी सोयल अन्सारीमार्फत सञ्चालन हुँदै आएको स्रोतले जनाएको छ।
यादवले चार वर्षदेखि आफूलाई काम नदिइएको मात्रै नभई कार्यालयमा बस्ने उचित व्यवस्था समेत नगरिएको आरोप लगाएका छन्। “कार्यालयमा आएर उभिएर दिन बिताउनुपर्ने अवस्था छ,” उनले भने। नियम–कानुनअनुसार काम गर्ने स्वभावका कारण जनप्रतिनिधिले नियतवश जिम्मेवारी नदिएको उनको दाबी छ।
उनले आफ्नो समस्या सम्बन्धित निकायमा पटक–पटक राख्दा पनि सुनुवाइ नभएको गुनासो गरेका छन्। हालसम्म नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतमार्फत काम सञ्चालन हुँदै आएको पनि उनले बताएका छन्।
यसैबीच, नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका उपसचिव विष्णु प्रसाद पौडेललाई समस्या अवगत गराउँदा उनले समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको यादवले जानकारी दिए।
यता, नगर प्रमुख शम्भु साहले भने लेखा अधिकृत यादवले आफैँले जिम्मेवारी नखोजेकाले काम नदिइएको दाबी गरेका छन्। साथै, सरुवाका लागि उनले दिएको निवेदन नगरपालिकाले स्वीकृत गरिसकेको पनि साहले बताएका छन्।
घटनाले स्थानीय तहभित्र कर्मचारी व्यवस्थापन र कार्यविभाजनको विषयमा गम्भीर प्रश्न उठाएको छ।