35 Share
दीपक कुमार / रौतहट
२०८२ चैत २० गते
रौतहटको गौरस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा बिचौलियाको चलखेल नियन्त्रण गर्न प्रहरीले कडाइ थालेको छ। सोही क्रममा आज गरिएको निगरानीका क्रममा चार जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सरकारले मालपोतजस्ता संवेदनशील कार्यालयहरूमा बिचौलियाको प्रवेश निषेध गर्ने स्पष्ट निर्देशन जारी गरेपछि प्रहरी टोली कार्यालयमै पुगेको थियो। अनुगमनकै क्रममा सेवाग्राहीसँग रकम असुली गर्दै काम गराइदिने गतिविधिमा संलग्न व्यक्तिहरू फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा रामनरेश कुमार, सञ्जय कुमार, सिकित नारायण र बब्लु प्रसाद रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ तथा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
स्थानीयस्तरमा लामो समयदेखि मालपोत कार्यालयमा बिचौलियाको सक्रियता रहेको गुनासो आइरहेका बेला प्रहरीले गरेको यो कारबाहीलाई सेवाग्राहीहरूले सकारात्मक रूपमा लिएका छन्। अब यस्ता गतिविधि पूर्ण रूपमा नियन्त्रण हुने अपेक्षा गरिएको छ।