गौर नगरसभाको ऐतिहासिक सन्देश: विकास, सुशासन र समृद्धिको नयाँ अध्याय

25 Share

दीपक कुमार
रौतहट, गौर। गौर नगरपालिकाको १८ औँ नगरसभा भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। नगरको दीर्घकालीन विकास, सुशासनको सुदृढीकरण तथा नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित नगर प्रमुख शम्भु साह ले आगामी आर्थिक वर्षका लागि ५३ करोड ८८ लाख १२ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ।
नगरसभामा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पूर्वाधार निर्माण तथा सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै गौरको समग्र विकासको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ।
नगर प्रमुख साहले नगरसभा सम्बोधन गर्दै भन्नुभयो, “गौर नगरपालिकालाई विकास र समृद्धिको नयाँ उचाइमा पुर्‍याउने हाम्रो प्रतिबद्धता अटल छ। यो बजेट केवल अंकको दस्तावेज होइन, नगरवासीको सपना, आवश्यकता र भविष्यसँग जोडिएको विकासको आधारशिला हो।”
उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, नगरसभा सदस्य तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न सभाले आगामी वर्षका नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।
नगरसभाले “समृद्ध गौर, सुशासित गौर र आत्मनिर्भर गौर” निर्माण गर्ने साझा संकल्पका साथ आगामी वर्षमा विकासका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
गौर नगरपालिकाको १८ औँ नगरसभा केवल बजेट पारित गर्ने औपचारिक कार्यक्रम नभई नगरको उज्ज्वल भविष्य निर्माण गर्ने सामूहिक प्रतिबद्धताको दस्तावेज बनेको सहभागीहरूको भनाइ रहेको छ।