सेवाग्राहीमाथि अत्याचार : चन्द्रनिगाहपुर मालपोत कार्यालयमा “पैसा बिना कामै नहुने” आरोप

49 Share

रौतहट — चन्द्रपुर नगरपालिका अन्तर्गत चन्द्रनिगाहपुरस्थित मालपोत कार्यालय पुनः विवादमा तानिएको छ। सेवाग्राहीलाई अनावश्यक दुःख दिने, बहाना बनाउँदै काम रोकेर राख्ने र अन्ततः घुस माग्ने प्रवृत्ति मौलाउँदै गएको भन्दै गम्भीर गुनासोहरू बाहिर आएका छन्।
स्थानीय सेवाग्राहीहरूको आरोप अनुसार, कार्यालयका नायब सुब्बा रामगिर मुखियाले खुलेआम “पैसा दिए काम हुने, नदिए कामै नहुने” शैली अपनाउँदै आएका छन्। सामान्य नागरिकहरू आफ्नो जायज कामका लागि दिनौँ धाउँदा समेत अनेक बहाना देखाएर झुलाउने र अन्त्यमा आर्थिक लेनदेन बिना फाइल अघि नबढाउने गरिएको बताइएको छ।
सूचना अधिकारी नै विवादमा झन चिन्ताजनक कुरा के छ भने, सूचना अधिकारी जस्तो जिम्मेवार पदमा रहेका मुखिया स्वयं सेवाग्राहीप्रति असभ्य व्यवहार गर्ने, ठाडो भाषा प्रयोग गर्ने र जानकारी माग्दा समेत दुव्र्यवहार गर्ने गरेको आरोप छ।
सेवाग्राहीहरू भन्छन्— “कार्यालयमा सेवा लिन जाँदा सेवा होइन, सास्ती पाइन्छ।”
पत्रकारलाई समेत धम्की मालपोत सम्बन्धी जिज्ञासा राख्दा एक सञ्चारकर्मीलाई मुखियाले “भोलि देखाइदिन्छु” भन्दै धम्कीपूर्ण जवाफ दिएको घटनाले स्थिति अझ गम्भीर बनेको छ। यसले सरकारी कर्मचारीको अहंकार र गैरजिम्मेवारीपनको स्तर कति खस्किएको छ भन्ने स्पष्ट देखाउँछ।
कार्यालय प्रमुख मौन किन ? यस्ता गम्भीर गुनासोहरू बढ्दै जाँदा पनि कार्यालय प्रमुख नितिश कुमार गुप्ताले कुनै चासो नदेखाएको भन्दै स्थानीयमा आक्रोश बढेको छ। सेवाग्राहीहरू प्रश्न गर्छन्— “के यो सब मिलेमतोमै भइरहेको हो ?”
संस्थामाथि नै धक्का एक राष्ट्रसेवक कर्मचारीको गैरजिम्मेवार र गुण्डा शैलीको व्यवहारले सिङ्गो मालपोत कार्यालयको छवि धुमिल बनाउँदै लगेको छ। जनताको विश्वासमाथि खेलवाड गर्ने यस्ता गतिविधि रोक्न सम्बन्धित निकायले तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग उठ्न थालेको छ।
अब प्रश्न उठेको छ—
के सेवाग्राहीले सेवा पाउन अझै घुसकै सहारा लिनुपर्ने हो ? कि राज्य संयन्त्र जाग्ने हो ?