24 Share
दीपक कुमार / रौतहट, असार १०
रौतहटको दुर्गा भगवती गाउँपालिकाको १२औँ गाउँसभा तथा १०औँ बजेट अधिवेशन बुधबार सम्पन्न भएको छ। गाउँपालिका कार्यालय परिसरस्थित खुला मैदानमा आयोजित अधिवेशनको उद्घाटन मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र साह ले गरेका थिए।
अधिवेशनमा गाउँपालिका अध्यक्ष शम्भु सिंह ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रमसहित ३९ करोड ३८ लाख ८१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै समावेशी र जनमुखी विकास योजनाहरू कार्यान्वयन गरिने बताए।
अध्यक्ष सिंहले पालिकावासीसँग गरिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दै विकास निर्माणलाई तीव्रता दिन बजेट केन्द्रित गरिएको उल्लेख गरे। प्रस्तुत बजेटले सेवा प्रवाह, सुशासन तथा समग्र विकासलाई थप प्रभावकारी बनाउने विश्वास समेत व्यक्त गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री साहले दुर्गा भगवती गाउँपालिकासँग आफ्नो विशेष सम्बन्ध रहेको उल्लेख गर्दै प्रदेश सरकारबाट आवश्यक विकास आयोजना तथा कार्यक्रमका लागि आवश्यक सहयोग र बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता जनाए।
गाउँसभामा उपाध्यक्ष शिला देवी, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मनीष झा ले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सबैप्रति आभार प्रकट गरेका थिए।
गाउँसभामा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेटमाथि विस्तृत छलफल गर्दै विकास निर्माण, सेवा प्रवाह र सुशासनलाई थप प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो।