39 Share
दीपक कुमार /रौतहट,
सदरमुकाम गौरमा दुई सम्प्रदायबीच उत्पन्न तनाव समाधान गर्न सर्वपक्षीय बैठक सम्पन्न भएको छ। स्थानीय प्रशासनको पहलमा बसेको उक्त बैठकले जिल्लामा शान्ति, सद्भाव र आपसी विश्वास पुनःस्थापित गर्न पाँचबुँदे महत्वपूर्ण निर्णय गरेको छ।
बैठकले पछिल्ला दिनहरूमा विकसित घटनाक्रमप्रति गहिरो खेद व्यक्त गर्दै अब कुनै पनि हालतमा हिंसा, उत्तेजना र द्वन्द्वलाई स्थान नदिने सामूहिक प्रतिबद्धता जनाएको छ। गौर नगरपालिका वडा नं. ६ सबगढा गाउँमा सुरु भएको विवाद सामान्य रूपमा समाधान भए पनि फेरि उग्र बन्दै गएपछि सिर्जित जटिल परिस्थितिले सबैलाई गम्भीर बनाएको छ। जनधनको क्षति रोक्न लगाइएको कर्फ्यु यथावत् रहे पनि जिल्लामा सौहार्दपूर्ण वातावरण कायम गर्न सबै पक्षले सार्वजनिक अपिल जारी गर्ने निर्णय गरिएको छ।
बैठकका प्रमुख निर्णयहरू यसप्रकार छन्—
🔹 दुवै पक्षका भद्रभलादमी, अगुवा तथा स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा जिल्ला सुरक्षा समितिले औपचारिक तथा अनौपचारिक संवाद अघि बढाएर स्थायी समाधान खोज्ने।
🔹 सामाजिक सञ्जालमार्फत अफवाह, भ्रामक तथा उत्तेजक सामग्री प्रचारप्रसार गर्ने कार्यलाई रोक्न सुरक्षा निकायलाई सक्रिय सहयोग गर्ने।
🔹 धार्मिक तथा सामाजिक सद्भाव बिथोल्न खोज्ने व्यक्तिहरूको निगरानी र अनुसन्धान कडा पार्दै दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गर्ने।
🔹 समग्र जिल्लामा शान्ति, सहिष्णुता र भाइचाराको सन्देश प्रवाह गर्न सबै सरोकारवालालाई एकजुट गर्ने।
यसैक्रममा, मिति २०८२ फागुन ११ गते बिहान ७:३० बजे नागरिक समाजको अगुवाइमा सबगढामा सद्भाव र्याली आयोजना गर्ने निर्णय गरिएको छ। उक्त र्यालीले रौतहटबाट सम्पूर्ण देशलाई शान्ति, सहिष्णुता र धार्मिक–सांस्कृतिक एकताको सन्देश दिने विश्वास गरिएको छ।
अब आवश्यकता आरोप–प्रत्यारोपको होइन, संयमता र संवादको हो। रौतहटको पहिचान द्वन्द्व होइन, सद्भाव हो। सबै पक्षको जिम्मेवारीपूर्ण भूमिका र परिपक्व निर्णयले मात्र जिल्लामा स्थायी शान्ति सम्भव छ।