52 Share
दीपक कुमार / रौतहट
२०८२ फागुन ९ गते | १७:५८
रौतहटको गौरस्थित सवगढामा भड्किएको साम्प्रदायिक झडप प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, दुई समुदायबीच उत्पन्न विवादलाई हिंसात्मक रूप दिन सहयोग गरेको आरोपमा शेख जमशेदलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका जमशेद जनमत पार्टी का जिल्ला संयोजक तथा गौर नगरपालिका–६ का पूर्व वडाध्यक्ष समेत हुन्। बिहीबार साँझ मस्जिद आसपासबाट जन्तीको गाडी गुज्रिएपछि सुरु भएको भनिएको विवाद क्रमशः उग्र बन्दै गएको थियो। शुक्रबार दिनभर चलेको झडपपछि प्रशासनले दुवै पक्षलाई बोलाएर ६ बुँदे सहमति गराएको थियो।
यद्यपि, सहमति कार्यान्वयन नहुँदै शनिबार बिहान पुनः सवगढामै झडप दोहोरिएको बताइएको छ। अवस्था नियन्त्रणबाहिर जान सक्ने संकेत देखिएपछि प्रशासनले गौरसहित रौतहटका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
प्रहरी स्रोतका अनुसार, घटनामा जमशेदको संलग्नताका केही प्रमाण फेला परेको दाबी गरिएको छ। उनलाई घरबाटै नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय लगिएको छ। पक्राउबारे उनले आफूलाई घरबाटै लगिएको स्वीकार गरे पनि प्रशासनले विस्तृत विवरण सार्वजनिक गरेको छैन।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसाल का अनुसार, हालसम्मको झडपमा १० जना सामान्य घाइते भएका छन् भने २० जनालाई नियन्त्रणमा लिइएको छ। साथै, ७ वटा मोटरसाइकल र १ जीप आगजनीबाट पूर्ण रूपमा नष्ट भएको पुष्टि गरिएको छ।
स्थिति अझै संवेदनशील रहेकाले सुरक्षा निकाय उच्च सतर्कतामा रहेको र शान्ति कायम राख्न सबै पक्षलाई संयमता अपनाउन प्रशासनले आग्रह गरेको छ।