78 Share
दीपक कुमार /रौतहट
९ फागुन, गौर। रौतहटको सदरमुकाम गौरमा कर्फ्यू आदेश लागू हुँदाहुँदै पनि छिटपुट आगजनीका घटना रोकिएका छैनन्। जिल्ला प्रशासनको निर्देशनमा नेपाली सेना परिचालन गरिएपछि मुख्य सडक क्षेत्रमा सतर्कता बढेको देखिए पनि भित्री बस्तीहरूमा अवस्था अझै तनावपूर्ण रहेको छ।
प्रदर्शनका क्रममा हालसम्म ६ वटा मोटरसाइकल र २ वटा जिपमा आगजनी भएको पुष्टि भएको छ। पछिल्लो घटना गौर नगरपालिका–४ मचकुटिया टोलमा एक स्कुटरमा आगो लगाइएको हो। सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिन प्रयास जारी राखेका छन्।
तनावको सुरुआत गौर नगरपालिका–६ सनगढा गाउँमा दुई समुदायबीचको विवादबाट भएको बताइएको छ। मस्जिदमा प्रार्थना भइरहेका बेला बाजा बजाएको विषयलाई लिएर विवाद चर्किएको थियो। त्यसपछि वडा नम्बर ४, ५ र ६ मा झडप फैलिएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो। झडपका क्रममा केही सवारीसाधनमा आगजनी र घरहरूमा तोडफोड भएको छ भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
थप हिंसा फैलिन सक्ने आशंकापछि जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालका अनुसार पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्म कर्फ्यू क्षेत्र तोकिएको छ।
प्रशासनले सर्वसाधारणलाई घरमै सुरक्षित रहन र अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ। सुरक्षा निकायले संयमता अपनाउन अपिल गर्दै शान्ति स्थापनाका लागि आवश्यक कदम चालिरहेको जनाएको छ।