0 Share
मधेश भूमि
रौतहट, असार २९। मधेश भूमि डट कमका रौतहट संवाददाता तथा नेपाल प्रेस युनियन रौतहटका अध्यक्ष प्रिमेश शिवाकोटीको उपचारका क्रममा सोमबार बिहान निधन भएको छ। उहाँ ३६ वर्षका हुनुहुन्थ्यो।
रौतहटको चन्द्रपुर नगरपालिका–७ निवासी शिवाकोटी विगत केही समयदेखि मृगौलासम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो। उहाँको चितवनस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको थियो। उपचारकै क्रममा सोमबार बिहान उहाँको दुःखद निधन भएको हो।
शिवाकोटी रौतहटका सक्रिय, निष्ठावान र जिम्मेवार पत्रकारका रूपमा परिचित हुनुहुन्थ्यो। मधेश भूमि डट कममार्फत उहाँले जिल्लाका समसामयिक गतिविधि, जनसरोकारका विषय तथा स्थानीय समाचारलाई निरन्तर प्राथमिकताका साथ उजागर गर्दै आउनुभएको थियो। नेपाल प्रेस युनियन रौतहटका अध्यक्षका रूपमा पनि उहाँले पत्रकारहरूको हकहित, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
उहाँको असामयिक निधनले रौतहटको पत्रकारिता क्षेत्रले एक कर्मठ, इमानदार र समर्पित सञ्चारकर्मी गुमाएको छ। उहाँको निधनप्रति पत्रकार, राजनीतिक दल, सामाजिक अगुवा तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
दिवंगत शिवाकोटीका श्रीमती र एक छोरी छन्। उहाँको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि गृहजिल्ला रौतहट ल्याइने पारिवारिक स्रोतले जनाएको छ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।