रौतहटमा रास्वपाको संगठनात्मक संकट छताछुल्लः निर्वाचन प्रक्रियाविरुद्ध आफ्नै नेताको मोर्चाबन्दी

46 Share

दीपक कुमार / रौतहट, २४ जेठ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहटको प्रथम जिल्ला अधिवेशन अन्तर्गत सञ्चालन भइरहेको निर्वाचन प्रक्रिया गम्भीर विवादमा तानिएको छ। पार्टीका बहालवाला संघीय सांसद तथा जिम्मेवार केन्द्रीय नेताहरूले नै निर्वाचन प्रक्रिया तत्काल स्थगन गर्न लिखित माग गरेपछि अधिवेशनको वैधानिकता र पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ।
आइतबार निर्वाचन संयोजकसमक्ष संयुक्त ध्यानाकर्षण पत्र बुझाउँदै नेताहरूले अधिवेशनका क्रममा चरम आन्तरिक विवाद, प्रक्रियागत अपारदर्शिता तथा सुरक्षा संवेदनशीलता बढेको भन्दै निर्वाचन रोक्न माग गरेका हुन्।
पत्रमा जिल्लाका विभिन्न पालिकाहरूमा प्रतिनिधि छनोट प्रक्रियालाई लिएर तीव्र असन्तुष्टि र विवाद देखिएको उल्लेख गरिएको छ। प्रतिनिधि छनोट निष्पक्ष र पारदर्शी नभएको आरोप लगाउँदै नेताहरूले अधिवेशनको आधारभूत लोकतान्त्रिक मर्म नै कमजोर बनाइएको दाबी गरेका छन्।
उद्घाटन सत्रकै दिन दुई पक्षबीच भएको भनिएको झडप, होहल्ला र अराजक गतिविधिले पार्टीभित्रको आन्तरिक संकट सतहमा आएको नेताहरूको भनाइ छ। यस्ता घटनाले निर्वाचन प्रक्रियाको निष्पक्षता मात्र होइन, निर्वाचन संयोजकसहित सम्बन्धित पदाधिकारीहरूको सुरक्षामा समेत गम्भीर चुनौती थपिएको पत्रमा उल्लेख गरिएको छ।
पार्टीका जिम्मेवार तहका नेताहरू स्वयंले निर्वाचन प्रक्रिया रोक्न माग गर्नुले रौतहटमा रास्वपाको संगठनात्मक अवस्था गम्भीर संकटतर्फ उन्मुख रहेको संकेत गरेको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। विवाद समाधान नगरी निर्वाचन अगाडि बढाइए त्यसले थप विभाजन, असन्तुष्टि र संगठनात्मक क्षति निम्त्याउन सक्ने चेतावनी समेत पत्रमार्फत दिइएको छ।