परोहा नगरपालिकाद्वारा ४९ करोड ६८ लाखभन्दा बढीको बजेट सार्वजनिक, शिक्षा–स्वास्थ्यदेखि पूर्वाधार विकासलाई उच्च प्राथमिकता

21 Share

दीपक कुमार, रौतहट, १० असार

रौतहटको परोहा नगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न १०औँ नगरसभा मार्फत नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै समग्र नगर विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेको जनाएको छ।

नगर प्रमुख शेख वकिल को अध्यक्षतामा सम्पन्न नगरसभामा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक, सरसफाइ तथा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकताका रूपमा समेटिएको छ। नगरवासीको जीवनस्तर उकास्ने, आधारभूत सेवामा पहुँच विस्तार गर्ने तथा दिगो विकासका लक्ष्य हासिल गर्ने उद्देश्यका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरिएको नगरपालिकाले जनाएको छ।

नगरसभामा प्रस्तुत बजेटले स्थानीय आवश्यकता र जनअपेक्षालाई सम्बोधन गर्दै विकास निर्माणका कार्यलाई थप गति दिने विश्वास व्यक्त गरिएको छ। साथै, पारदर्शिता, जवाफदेहिता र सुशासनलाई सुदृढ बनाउँदै नगरलाई समृद्धिको मार्गमा अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।