65 Share
दीपक कुमार / रौतहट
२०८२ फाल्गुन १९, मंगलवार
रौतहट । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले रौतहट जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। जिल्लामा तैनाथ नेपाली सेना को नारायणदल गणले स्थल र आकाश दुवै मार्गबाट निगरानी तीव्र बनाएको हो।
निर्वाचन नजिकिँदै जाँदा सुरक्षा सुदृढ पार्न सेनाले हवाई गस्ती सञ्चालन गर्नुका साथै गरुडामा हेलिकप्टर अवतरण गरी सुरक्षा उपस्थितिको सशक्त सन्देश दिएको छ। यससँगै एमपिभी (माइन प्रोटेक्टेड भेहिकल), मोटरसाइकल र पैदल टोलीमार्फत मतदान केन्द्र तथा संवेदनशील क्षेत्रहरूमा नियमित गस्ती बढाइएको छ।
सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सँग एकीकृत निर्वाचन सुरक्षा योजना अन्तर्गत समन्वयात्मक ढंगले परिचालन भइरहेको नारायणदल गणका कर्णेल विश्वास विष्टले जानकारी दिएका छन्।
कर्णेल विष्टका अनुसार मतदाताले ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न सकून् भन्ने लक्ष्यसहित सम्पूर्ण सुरक्षा निकाय चौकन्ना अवस्थामा छन्। कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सूक्ष्म निगरानी जारी रहने उनले स्पष्ट पारे।
निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउने साझा प्रतिबद्धतासहित रौतहटमा सुरक्षा संयन्त्र पूर्ण तयारी अवस्थामा रहेको छ।