दीपक कुमार/ रौतहट
रौतहटको राजदेवी नगरपालिकाको माध्यमिक विद्यालयका ब्रह्मपुरी प्रधानाध्यापक दीपेंद्र प्रसाद श्रीवास्तवलाई कारबाही गर्न जग्गादाताहरुले दबाब दिएका छन् ।
प्रधानाध्यापक श्रीवास्तवले आफ्नो नाता गोता लाई नियुक्ति दिने नाममा बेरुजु निस्केको खण्डमा उनलाई निलम्बन गरी बेरुजु रकम असुलउपर गर्न विद्यालयमा जग्गा दान गर्ने जग्गादाताहरूले दबाब दिने भएका हुन् ।
जग्गादातासहितको टोली नगरपालिकामा गई दबाब सिर्जना गर्ने र विद्यालयका बेथिति र वर्तमान समस्यालाई समाधान गरी विद्यालयमा उचित पठनपाठनको वातावरण सिर्जना गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
केही समययता विभिन्न सञ्चारमाध्यममा प्रकाशन गरिएका समाचार र विद्यालयको बेथितिबारे सर्वत्र हल्ला हुन थालेपछि विद्यालयमा जग्गा दान गर्ने जग्गादाताहरूले भेला बोलाएका हुन् ।
गत माघ १४ गते बसेको भेलाले प्रधानाध्यापक श्रीवास्तवको कारणले विद्यालयमा देखिएको बेथिति, आर्थिक अनियमितता सुशासनको कमि, सहकार्यको अभाव तथा अस्तव्यस्त शैक्षिक वातावरण जस्ता समस्या समाधानका लागि जग्गादाताको बैठक गरी एउटा छानबिन समिति गठन गरेको थियो ।
उक्त छानबिन समितिले माघ १७ गते पहिलो चरणमा शिक्षक अभिभावक संघ एवम मुख्य सरोकारवाला शिक्षकहरूसँग छलफल गरेको थियो ।
समितिकै आयोजनामा माघ २६ गते राजदेवी नगरपालिकाअन्तर्गतका राजनीतिक दलका प्रतिनिधि, जग्गादाता, शिक्षक, शिक्षक अभिभावक संघका पदाधिकारी एवम समाजसेवी तथा बुद्धिजीवीहरूको बसेको संयुक्त भेलामा भएको छलफल एवम अन्तरक्रियाले श्रीवास्तवले वास्तवमै विद्यालयमा बेथिति सिर्जना गरेको र विद्यालयजस्तो पवित्र सामाजिक संस्थामा वार्षिक रुपमा अभिभावक बोलाएर सामाजिक परीक्षण प्रतिवेदन पेश गर्नुपर्नेमा सामाजिक परीक्षण नगरेको ठहर गरेको छ ।
गत असोज २३ गते उच्च दबाब र चार वर्षपछि सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गर्न लाग्दा पनि श्रीवास्तवले सार्वजनिक गर्ने बहानामा बिनाआर्थिक प्रतिवेदन अभिभावकलाई झुक्याई सामाजिक परीक्षण प्रतिवेदन अनुमोदन गर्ने प्रयास गरेकोसमेत ठहर गरेको छ ।